Showing posts with label sagar parsain. Show all posts
Showing posts with label sagar parsain. Show all posts

Monday, August 22, 2011

गर्न खोज्दा यहाँ के नहुने रहेछ त! ‍-सागर प्रसाईँ


- Sagar Parsain, orginally published in Hamro Kura.

म त्रिपुरेश्वरको कालमोचन मन्दिर पुग्दा मान्छेहरुको बाक्लै उपस्थिति भईसकेको थियो। म केहि काम विशेषले अलि ढिलो मात्रै त्यहाँ पुगेँ। नेपाल युनाईट्सको पहल र अरु धेरै फेसबुक भित्र र बाहिरका समुहहरुको समर्थन र सहयोग रहेको “मेरो देश मेरो दायित्व” अन्तर्गत “कालमोचन मन्दिरको सरसफाई र तथा रँगरोगन कार्यक्रम”को हामीले बिगत दुई हप्ता देखि फेसबुकमा भव्य प्रचार गरेका थियौँ।

हामीले फेसबुकमा बनाएको ईभेन्टमा पनि करिब १२०० जना साथीहरुले म आउँछु भन्ने प्रतिबद्धता गर्नु भएको थियो। हामीलाई थाहा थियो, वहाँहरु सबैजना त आउनुहुने छैन तर पनि पक्कै पनि राम्रो सहभागिता हुनेछ। र भयो पनि त्यस्तै। करिब ३५० जना साथीहरु स्वत-स्फुर्त रुपमा हाम्रो कार्यक्रम मा सहभागी हुनुभयो। विध्यार्थी, जागिरे, बिभिन्न सँस्थाका प्रतिनिधिहरु, प्रहरी, ट्राफिक प्रहरी सबैले मिलेर कालमोचनको मन्दिरलाई सफा गरियो। सुरुमा मन्दिरमा जम्मा भएको फोहोर र धुलो लाई सफा गरिसकेपछि हामीले त्यहाँ रँगरोगन गर्यौँ। हामीले हेर्दा हेर्दै करिब ३ घण्टामा कालमोचन मन्दिरले आफ्नो रुप नै फेर्यो।

कालमोचन मन्दिरको आफ्नै एउटा महत्वपुर्ण ईतिहास छ। धेरै अघि नेपालमा जति पनि राजनितिक कलहहरुमा मान्छेहरु मारिए, ती सबैको आत्माको मोचनको लागी यसै मन्दिरमा दाहासँस्कार गरिने हुनाले पनि यो मन्दिरलाई कालमोचन मन्दिर भनिएको हो। यस अर्थमा हेर्दा, यो मन्दिरले हाम्रो समाजमा समृद्ध वर्गले साना बर्गका मान्छेहरु माथि गर्ने गरेको ज्यादती र हिंसा हामीलाई सधैँ सम्झाईरहन्छ र अबको समाजमा सबैले मिलेर बस्नु पर्ने सन्देश पनि प्रतिकात्मक रुपमा प्रदान गर्छ। हामीले सुरुमा कालमोचन मन्दिरलाई सफा गर्ने भन्दा धेरैले किन त्यस्तो मान्छेहरुको कम आवत-जावत हुने मन्दिरलाई छानेको, बरु अलि चल्तीका मन्दिरहरु छानेका भए हुने भनेर पनि प्रतिक्रिया दिए। तर कालमोचन मन्दिरको ईतिहासबाट अहिले दिनै पिच्छे बिभाजित हुँदै गरेको हाम्रो समाजले पनि एकताको महत्व थहा पाउने भएकाले हामीले यहि मन्दिरलाई सुरुमा छानेका हौँ।

हामीले मन्दिरहरुमा रँग लगाई नसक्दै साँझ भईसकेकाले त्यो दिन त्यतिकै छोडेर हिड्न पर्यो। सबैजनालै मलाई सोध्नुभयो खोई त सुरु गरेको काम पुरा गर्न पनि सकिएन, अब के गर्ने? तर शनिबारको दिन सुरु गरेको काम त हामीले जनसहभागिता गराउन मात्र थालेको हौँ। त्यहि दिन पुरै मन्दिरमा रँग लगाईसक्ने त हाम्रो लक्ष्य पनि थिएन र त्यसो गर्न हामी सक्दैनौ थियौँ पनि। हामीले त केवल मानिसहरुलाई आफ्नो कर्तव्य आफै पनि पुरा गर्न सकिन्छ भनेर जागरुक गर्नलाई त्यो कार्यक्रम आयोजना गरेको थियौँ र त्यसमा हामी सफल पनि भयौँ। र रह्यो कुरा पुरै मन्दिरको रँगरोगनको, हामीले त्यो काम गर्न व्यवासायिक पेन्टरहरुलाई ठेक्का दिईसकेका छौ। अबको हप्ता-दश दिन पछि कालमोचन मन्दिर बिल्कुलै चमक्ने छ र सँगसँगै हामीलाई गर्व हुनेछ, यो कार्यमा हाम्रो पनि सहभागिता थियो भनेर।

देशको परिवर्तन ठुला ठुला कुरा गरेर आउँदैन, बरु यस्तै साना साना काम गरेर आउँछ। हामीले आयोजना गरेको यो कार्यक्रममा सहभागी भएर,घाम पानी नभनि दिनभर खटेर काम गर्नुहुने सम्पुर्ण साथीहरुप्रति हामी अयन्त आभारी छौँ। हामीलाई फेसबुकमा गफ मात्र गर्ने समुह भनेर आरोप लाउनु हुने व्यक्तिहरुलाई यो कार्यक्रम गतिलो जवाफ हुने हामीले विश्वास लिएका छौँ। हाम्रा आगामी कार्यक्रमहरु पनि यहाँहरु यस्तै सहयोग र सद्‍भावको आशा राखेका छौँ।

अन्तमा, छोटो समयमा सबैले मिलेर सुन्दर बनाएको बागमतिको पुल र कालमोचन मन्दिर हेर्दा हामी अब गर्व साथ भन्न सक्छौँ, गर्न खोज्दा यहाँ नहुने के रहेछ त!

Thursday, June 30, 2011

किनभने हामीलाई विश्वास छ!

by Sagar Parsain.

“सँविधान सभाको म्याद सकिन ६२ दिन बाँकि छ। काम के हुँदैछ। विचार पो गर्ने हो कि?”

मैले मेरो फेसबुकको स्टाटस अपडेट गरेँ। मलाई यो कुराले निकै पिरोलिरहेको थियो, त्यहि भएर फेसबुकमा लेखिदिएँ।

एकैछिनमा फेसबुकमा माथिपट्टि प्लिक रातो बल्यो र १ लेख्यो। मैले त्यहाँ क्लिक गरेँ। उसले मेरो स्टाटसमा कमेन्ट गरेछ। म त्यो पढ्न थालेँ।

“चिन्ता नगर्नुस मित्र सँबिधान बन्छ। तर पेट्रोलको भाउ घट्दैन। नेपालका सडकहरु बिकसित हुँदैनन्। मान्छेहरु हिँसाबाट मर्न रोकिदैनन्। एस.एल.सी मा बिधार्थीहरुले चोर्न छोड्दैनन्। कर्मचारीहरुले घुस खान छोड्दैनन् र नेपालीहरु बिदेशिन छोड्दैनन्। तर तपाईँ खुशी हुनुस, सँबिधान बन्ने छ।“

म उसको कमेन्ट पढेर वाल्ल परे। उसले मलाई कति मजाले व्यङ्ग गरेको थियो। उसले भनेको कुराहरु अहिले हाम्रो देशमा व्याप्त भईरहेको थियो। तर उ त्यो पनि बदलिने छ बन्ने पक्षमा थिएन। मैले उसमा नकारात्मक सोच बढिनै पाएँ। त्यहि भएर मैले पनि त्यो स्टाटसमा कमेन्ट गरेँ।

“मित्र चिन्ता नगर्नुस तपाईँले औँल्याउनु भएका कुराहरु पनि सुध्रिदै जानेछन्। सँबिधान बने पछि देशमा कानुनी शासन हुनेछ। भ्रष्टाचार गर्ने कर्मचारी र नक्कल गर्ने बिधार्थीलाई कारबाहि हुनेछ। सँबिधानले आर्थिक बिकासको बाटो खोल्नेछ अनि रोडहरु कसो नबन्ला, बिकास कसो नहोला। अनि आफ्नै देश बिकसित भएसि नेपालीहरु बिदेसिन नि कम होलान्।“

मलाई मैले लेखेको कुरा मन पर्‍यो। तर उसलाई परेनछ।उसले फेरी तल कमेन्ट गर्‍यो।

“कुनै कुरा हेर्दा र सुन्दा एकदम राम्रो लाग्छ रे। तपाईँका कुरा त्यस्तै हुन्। तर तपाईँले भने जस्तै सजिलो छैन परिवर्तन आउन।“

हैन, यो मान्छेको मनमा कति धेरै नकारात्मक बिचार अंट्न सकेको, म छक्क परेँ। अब कुरा यहाँ सम्म पुगेपछि मलाई पनि त्यतिकै छोड्न मन लागेन। एकछिन सोचेँ अनि लेखेँ।

“तपाईँलाई थहा छ मित्र तपाईँले भने जस्तै समस्याहरु बाट देशलाई मुक्त गराउन अहिले हामीले फेसबुक मार्फत नै अभियान चलाईरहेका छौँ नि। अनि त्यहाँ हामी सबै एक भएर देश परिवर्तनको कुरा गर्छौँ। किन थहा छ, किन भने हामी बिश्वास गर्न सक्छौँ। हामीलाई विश्वास छ एकदिन देशले कोल्टे फेर्नेछ। अनि तपाईँलाई अर्को कुरा थहा छ, सपना देखेन भने कहिले पुरा हुँदैन रे। सपना देख्यो भने कहिले काँहि मात्र पुरा हुँदैन रे। त्यसैले नया नेपाल को सपना देखौ न तपाईँ र म। हुँदैन?”

मैले यो कमेन्ट लेखेको निकैबेर पछि सम्म पनि उसले केहि लेखेन। सायद उसलाई मेरो कुरा चित्त बुझ्यो वा सायद उसलाई लाग्यो म मुर्खले उसको कुरा बुझ्दिन तर जे भए पनि मैले मेरो मनमा भएको करा साँचो साँचो लेख्या थेँ।

म एक आशावादि मान्छे हुँ र मलाई आशा छ नेपाल पनि एकदिन उन्नत राष्ट्र हुनेछ।

जय नेपाल!

Wednesday, June 29, 2011

POEM - एउटा मान्छे खोज्दै छु

By Sagar Parsain

सकेर राष्ट्रको सबै काम, अनि मात्र थाक्न सकोस्
एउटा मान्छे खोज्दैछु म, जसले देश हाँक्न सकोस्

आफ्नो जात र धर्म भन्दा, सधैँ उ माथि उठोस्
छोडेर स्वार्थ सबै, देशहितको निम्ति जुटोस्
उसले हिमाल, पहाड, तराई सबै एउटै देख्नेछ
शान्ति कायम राखी सँबिधान लेख्नेछ

ईमान्दारिताको फुल सबको मनमा फुलाउन सकोस्
रोजगारी नया बाटोहरु प्रसस्त खुलाउन सकोस्
उसको राजमा जनताले कहिले रुन नपरोस्
बलियाले कुट्ने र निर्धा कुटिने हुन नपरोस्

सकेर राष्ट्रको सबै काम, अनि मात्र थाक्न सकोस्
एउटा मान्छे खोज्दैछु म, जसले देश हाँक्न सकोस्

Tuesday, June 21, 2011

फेसबुक आन्दोलन र उनको बुझाई

- Sagar Parsain
(inspired by true events)

वानेश्वरचोक बाट शंखमुल जाने बाटोको दाहिने पट्टि सडक पेटि मा उनीहरु उभिएका थिए। चन्द्र र सुर्य अंकित झन्डा हावामा फर्रफराईरहेको परैबाट प्रस्ट देखिन्थ्यो। उनीहरुका हातमा विभिन्न नारा अंकित प्लेकार्ड थिए। म पनि त्यो हुलमा मिसिएँ। फरक यत्ति थियो, म उभिएको थिईन। म व्हिलचियरमा बसेको थिएँ...। तर देश प्रतिको मेरो दायित्व उभिएको थियो र सँगै उभिएको थियो देश बदलिएको हेर्ने मेरो चाहना।

त्यो लामको अगाडी पट्टि पुगे पछि मेरो हातमा पनि एउटा प्लेकार्ड आईपुग्यो। त्यहाँ लेखिएको थियो, “सँबिधान तिम्रो कमाई खाने भाँडो हैन, मेरो अधिकार हो।“ म प्लेकार्ड हातमा लिएर त्यहाँ बसिरहेँ। हामीले भाग लिएको त्यो मौन बिरोध कार्यक्रम थियो, शान्ति र सँबिधानको पक्षमा।

एकैछिनमा मेरो अघि एकजना पुरुष आईपुगे। उनले मलाई हेरेर हाँसे। मलाई लाग्यो उनले मलाई चिनेका रहेछन्। तर होईन रहेछ। उनी त मैले बोकेको प्लेकार्ड हेरेर हाँसेका रहेछन्।

“के गर्नु भएको तपाईँहरुले?” उनले नरम भएर सोधे

“फेसबुकमा हाम्रो एउटा समुह छ दाई।“ मैले पनि उस्तै मिजास मा बोलेँ, “त्यसै मार्फत नेताहरुलाई झक्झक्याउने कार्यक्रम हो यो।

“उनलाई मेरो कुराको पत्यार लागेन क्यार, हाँसे। एकछीन मा भने, “अनि यसरी नि आन्दोलन हुन्छ त। टायर बाल्नुस, गाडी फुटाउनुस। अलि हेर्नेलाई पनि मजा लागोस् न यार।“ उनले यस्तरी भने कि मानौँ हामी त्यहाँ उभिएका मान्छेहरु कसैको मजाको लागी रमिता देखाउन बसेका हौँ। मलाई उनको कुराले रिस उठेन बरु उनको बिबेक देखेर दया लाग्यो।

“लाफ्टर च्यालेन्ज हो र यो हेर्न मजा आउने!” मलाई भन्न मन थियो तर म छुचो हुन चाहिन।

“आउनुस न दाई, तपाईँ पनि हामीलाई साथ दिनुस।“ मैले उनलाई बरु निम्तो दिएँ।

“हैन ठिकै छ।“ उनी यति भनेर जान लागे।

“किन यो देश तपाईँको हैन र?” यसपाली मैले सोधेरै छोडेँ। “अवश्य हो नि।“ उनी हाँस्दै बिदा भए। अलि पर पुगेपछि उनले अर्को एकजना मान्छेलाई पनि हामी तर्फ देखाएर केहि कुरा भन्दै हाँस्न थाले। मैले अब उनको कुराबारे सोच्नै छोडे किनभने मैले थहा पाईसकेको थीँए हाम्रो आन्दोलन उनको सोच्ने शक्तिको उपज छ।

मलाई लाग्थ्यो सँसारमा दुई किसिमका मान्छे हुन्छन्। कुरा बुझ्ने र कुरा नबुझ्ने। तर आज मैले तेस्रो प्रकार पनि भेट्टाए। कुरा बुझेर पनि बुझपचाउने।

Friday, June 17, 2011

Why Nepal should unite?

- Sagar Parsain

"एउटा लठ्ठी त जसले नि भाँच्न सक्छ।" पिउँदै गरेको चिया टेबलमा राख्दै उसले भन्यो, "तर त्यस्तै लठ्ठीहरुको एउटा मुठोलाई कसैले भाँचेर देखाओस् त?"
उसको कुराको मैले कुनै अर्थ लाउन सकिन। सोधेँ, "भन्न चाँहि के खोजेको?"
"तिमीले सोधेको हैन, किन अहिलेको समयमा नेपालीहरुको एकताको खाँचो छ भनेर?"
"ए! तिमीले त त्यसको पो जवाफ देको?" मैले बल्ल कुरो बुझेँ।
असल र खराव छुट्याउन सक्नेलाई बिबेकी भनिन्छ। मलाई आजबाट लाग्यो उ बिबेकि हो।

Wednesday, June 15, 2011

आमा नेपाल: A story that captures the essence of Nepal Unites

- Sagar Parsain,
(Who has been at every event to unite the country despite his physical challenges.)

हामी आज भृकुटिमण्डपको पार्क मा थियौँ। चौपट्ट घाम लागेको थियो। गर्मीले त्यसैपनि दिमाग तातिरहेको थियो। त्यतिले नपुगेर एउटा नचिनेको पुरुष हामी सित बात मार्न आईपुग्यो। बात मार्न के भन्नु र, उ एकनाशले आफ्ना कुरा सुनाउन आईपुगे जस्तो थियो। “हेर्नुस है। देश भनेर के गर्नु, चाहिएको बेला पानी हुँदैन, बत्ति हुँदैन। काम गर्न खोज्यो काम पाईँदैन। बेकामे सरकार र घुस्याहा व्यवस्था छ। म त यिनै कुरा सम्झेर दिक्क भईसकेँ।“ उसले यति कुरा भन्दा सम्म हामी शान्त भएर सुनिरहेका थियौँ। तर उसले एक्कासि बोल्न हुने र नहुने कुराको हद बिर्सिदैँ भन्यो, “थुक्क कस्तो देश!” मेरो एक्काशि पारो तात्यो। घामले भन्दा उसका कुराले मलाई बढि पिडा दियो। मैले उसको कुराको प्रतिकार गर्नलाई बोल्न नथाल्दै मेरो साथिले बडो शान्त भएर उसलाई सोध्यो, “तपाईँको घरमा पैसाको अभाव भयो, परिवारमा कलह भयो, शान्ति भएन, तपाईँका भाईहरुसँग तपाईँको कुरा मिलेन भने तपाईँ के गर्नु हुन्छ?” त्यो नचिनेको मान्छे एक केहि बोलेन। मलाई लाग्यो उसले कुरा बुझेन। तर होईन रहेछ। एकछिन पछि उ बोल्यो, “घरमा त्यस्तो भयो भने, म केहि उपायले ति समस्याको निकास खोज्छु।“ “अँह! तपाईँले त्यसो गर्नु हुन्न।“ मेरो साथिको पालो आयो। “तपाईँ त थुक्क मैले कस्तो कोखमा जन्म लिएछु भनेर धिक्कारनु हुने रहेछ आफैलाई !” “तैट! तपाईले कस्तो कुरा गर्नु भएको?” यसपाली त्यो पुरुष अलि जङ्गियो। “आफ्नि आमालाई कसैले त्यस्तो भन्छ?” “अगि तपाईँले नै भन्नु भएको हैन।“ यसपाली म बोलेँ। “थुक्क कस्तो देश भनेर।“ “त्यो त देशलाई पो भन्या त। आमालाई थोडि हो।“ उ सन्तुष्ट भयो। “अनि यो देश हाम्रो आमा समान हैन। बच्चा बेला देखि नेपाल आमा भन्दै आएका हैनौँ हामीले।“ मैले भने। “हत्तेरिका सरहरु पनि के के भन्नु हुन्छ हौ।“ भनेर उ त्यहाँ बाट जुरुक्क उठेर हिड्योँ। पर पुगिन्जेल सम्म पनि उसले हामीलाई फर्केर हेरेन। मेरो कुराले उसलाई प्रभाव पर्यो कि परेन, त्यो त मलाई थहा भएन, तर म भने आज सन्तुष्ट भएको थिएँ।

Recommend