- Sagar Parsain, orginally published in Hamro Kura.
म त्रिपुरेश्वरको कालमोचन मन्दिर पुग्दा मान्छेहरुको बाक्लै उपस्थिति भईसकेको थियो। म केहि काम विशेषले अलि ढिलो मात्रै त्यहाँ पुगेँ। नेपाल युनाईट्सको पहल र अरु धेरै फेसबुक भित्र र बाहिरका समुहहरुको समर्थन र सहयोग रहेको “मेरो देश मेरो दायित्व” अन्तर्गत “कालमोचन मन्दिरको सरसफाई र तथा रँगरोगन कार्यक्रम”को हामीले बिगत दुई हप्ता देखि फेसबुकमा भव्य प्रचार गरेका थियौँ।
हामीले फेसबुकमा बनाएको ईभेन्टमा पनि करिब १२०० जना साथीहरुले म आउँछु भन्ने प्रतिबद्धता गर्नु भएको थियो। हामीलाई थाहा थियो, वहाँहरु सबैजना त आउनुहुने छैन तर पनि पक्कै पनि राम्रो सहभागिता हुनेछ। र भयो पनि त्यस्तै। करिब ३५० जना साथीहरु स्वत-स्फुर्त रुपमा हाम्रो कार्यक्रम मा सहभागी हुनुभयो। विध्यार्थी, जागिरे, बिभिन्न सँस्थाका प्रतिनिधिहरु, प्रहरी, ट्राफिक प्रहरी सबैले मिलेर कालमोचनको मन्दिरलाई सफा गरियो। सुरुमा मन्दिरमा जम्मा भएको फोहोर र धुलो लाई सफा गरिसकेपछि हामीले त्यहाँ रँगरोगन गर्यौँ। हामीले हेर्दा हेर्दै करिब ३ घण्टामा कालमोचन मन्दिरले आफ्नो रुप नै फेर्यो।
कालमोचन मन्दिरको आफ्नै एउटा महत्वपुर्ण ईतिहास छ। धेरै अघि नेपालमा जति पनि राजनितिक कलहहरुमा मान्छेहरु मारिए, ती सबैको आत्माको मोचनको लागी यसै मन्दिरमा दाहासँस्कार गरिने हुनाले पनि यो मन्दिरलाई कालमोचन मन्दिर भनिएको हो। यस अर्थमा हेर्दा, यो मन्दिरले हाम्रो समाजमा समृद्ध वर्गले साना बर्गका मान्छेहरु माथि गर्ने गरेको ज्यादती र हिंसा हामीलाई सधैँ सम्झाईरहन्छ र अबको समाजमा सबैले मिलेर बस्नु पर्ने सन्देश पनि प्रतिकात्मक रुपमा प्रदान गर्छ। हामीले सुरुमा कालमोचन मन्दिरलाई सफा गर्ने भन्दा धेरैले किन त्यस्तो मान्छेहरुको कम आवत-जावत हुने मन्दिरलाई छानेको, बरु अलि चल्तीका मन्दिरहरु छानेका भए हुने भनेर पनि प्रतिक्रिया दिए। तर कालमोचन मन्दिरको ईतिहासबाट अहिले दिनै पिच्छे बिभाजित हुँदै गरेको हाम्रो समाजले पनि एकताको महत्व थहा पाउने भएकाले हामीले यहि मन्दिरलाई सुरुमा छानेका हौँ।

हामीले मन्दिरहरुमा रँग लगाई नसक्दै साँझ भईसकेकाले त्यो दिन त्यतिकै छोडेर हिड्न पर्यो। सबैजनालै मलाई सोध्नुभयो खोई त सुरु गरेको काम पुरा गर्न पनि सकिएन, अब के गर्ने? तर शनिबारको दिन सुरु गरेको काम त हामीले जनसहभागिता गराउन मात्र थालेको हौँ। त्यहि दिन पुरै मन्दिरमा रँग लगाईसक्ने त हाम्रो लक्ष्य पनि थिएन र त्यसो गर्न हामी सक्दैनौ थियौँ पनि। हामीले त केवल मानिसहरुलाई आफ्नो कर्तव्य आफै पनि पुरा गर्न सकिन्छ भनेर जागरुक गर्नलाई त्यो कार्यक्रम आयोजना गरेको थियौँ र त्यसमा हामी सफल पनि भयौँ। र रह्यो कुरा पुरै मन्दिरको रँगरोगनको, हामीले त्यो काम गर्न व्यवासायिक पेन्टरहरुलाई ठेक्का दिईसकेका छौ। अबको हप्ता-दश दिन पछि कालमोचन मन्दिर बिल्कुलै चमक्ने छ र सँगसँगै हामीलाई गर्व हुनेछ, यो कार्यमा हाम्रो पनि सहभागिता थियो भनेर।
देशको परिवर्तन ठुला ठुला कुरा गरेर आउँदैन, बरु यस्तै साना साना काम गरेर आउँछ। हामीले आयोजना गरेको यो कार्यक्रममा सहभागी भएर,घाम पानी नभनि दिनभर खटेर काम गर्नुहुने सम्पुर्ण साथीहरुप्रति हामी अयन्त आभारी छौँ। हामीलाई फेसबुकमा गफ मात्र गर्ने समुह भनेर आरोप लाउनु हुने व्यक्तिहरुलाई यो कार्यक्रम गतिलो जवाफ हुने हामीले विश्वास लिएका छौँ। हाम्रा आगामी कार्यक्रमहरु पनि यहाँहरु यस्तै सहयोग र सद्भावको आशा राखेका छौँ।
अन्तमा, छोटो समयमा सबैले मिलेर सुन्दर बनाएको बागमतिको पुल र कालमोचन मन्दिर हेर्दा हामी अब गर्व साथ भन्न सक्छौँ, गर्न खोज्दा यहाँ नहुने के रहेछ त!

