- Sagar Parsain,
(Who has been at every event to unite the country despite his physical challenges.)
हामी आज भृकुटिमण्डपको पार्क मा थियौँ। चौपट्ट घाम लागेको थियो। गर्मीले त्यसैपनि दिमाग तातिरहेको थियो। त्यतिले नपुगेर एउटा नचिनेको पुरुष हामी सित बात मार्न आईपुग्यो। बात मार्न के भन्नु र, उ एकनाशले आफ्ना कुरा सुनाउन आईपुगे जस्तो थियो। “हेर्नुस है। देश भनेर के गर्नु, चाहिएको बेला पानी हुँदैन, बत्ति हुँदैन। काम गर्न खोज्यो काम पाईँदैन। बेकामे सरकार र घुस्याहा व्यवस्था छ। म त यिनै कुरा सम्झेर दिक्क भईसकेँ।“ उसले यति कुरा भन्दा सम्म हामी शान्त भएर सुनिरहेका थियौँ। तर उसले एक्कासि बोल्न हुने र नहुने कुराको हद बिर्सिदैँ भन्यो, “थुक्क कस्तो देश!” मेरो एक्काशि पारो तात्यो। घामले भन्दा उसका कुराले मलाई बढि पिडा दियो। मैले उसको कुराको प्रतिकार गर्नलाई बोल्न नथाल्दै मेरो साथिले बडो शान्त भएर उसलाई सोध्यो, “तपाईँको घरमा पैसाको अभाव भयो, परिवारमा कलह भयो, शान्ति भएन, तपाईँका भाईहरुसँग तपाईँको कुरा मिलेन भने तपाईँ के गर्नु हुन्छ?” त्यो नचिनेको मान्छे एक केहि बोलेन। मलाई लाग्यो उसले कुरा बुझेन। तर होईन रहेछ। एकछिन पछि उ बोल्यो, “घरमा त्यस्तो भयो भने, म केहि उपायले ति समस्याको निकास खोज्छु।“ “अँह! तपाईँले त्यसो गर्नु हुन्न।“ मेरो साथिको पालो आयो। “तपाईँ त थुक्क मैले कस्तो कोखमा जन्म लिएछु भनेर धिक्कारनु हुने रहेछ आफैलाई !” “तैट! तपाईले कस्तो कुरा गर्नु भएको?” यसपाली त्यो पुरुष अलि जङ्गियो। “आफ्नि आमालाई कसैले त्यस्तो भन्छ?” “अगि तपाईँले नै भन्नु भएको हैन।“ यसपाली म बोलेँ। “थुक्क कस्तो देश भनेर।“ “त्यो त देशलाई पो भन्या त। आमालाई थोडि हो।“ उ सन्तुष्ट भयो। “अनि यो देश हाम्रो आमा समान हैन। बच्चा बेला देखि नेपाल आमा भन्दै आएका हैनौँ हामीले।“ मैले भने। “हत्तेरिका सरहरु पनि के के भन्नु हुन्छ हौ।“ भनेर उ त्यहाँ बाट जुरुक्क उठेर हिड्योँ। पर पुगिन्जेल सम्म पनि उसले हामीलाई फर्केर हेरेन। मेरो कुराले उसलाई प्रभाव पर्यो कि परेन, त्यो त मलाई थहा भएन, तर म भने आज सन्तुष्ट भएको थिएँ।
No comments:
Post a Comment