Thursday, June 30, 2011

किनभने हामीलाई विश्वास छ!

by Sagar Parsain.

“सँविधान सभाको म्याद सकिन ६२ दिन बाँकि छ। काम के हुँदैछ। विचार पो गर्ने हो कि?”

मैले मेरो फेसबुकको स्टाटस अपडेट गरेँ। मलाई यो कुराले निकै पिरोलिरहेको थियो, त्यहि भएर फेसबुकमा लेखिदिएँ।

एकैछिनमा फेसबुकमा माथिपट्टि प्लिक रातो बल्यो र १ लेख्यो। मैले त्यहाँ क्लिक गरेँ। उसले मेरो स्टाटसमा कमेन्ट गरेछ। म त्यो पढ्न थालेँ।

“चिन्ता नगर्नुस मित्र सँबिधान बन्छ। तर पेट्रोलको भाउ घट्दैन। नेपालका सडकहरु बिकसित हुँदैनन्। मान्छेहरु हिँसाबाट मर्न रोकिदैनन्। एस.एल.सी मा बिधार्थीहरुले चोर्न छोड्दैनन्। कर्मचारीहरुले घुस खान छोड्दैनन् र नेपालीहरु बिदेशिन छोड्दैनन्। तर तपाईँ खुशी हुनुस, सँबिधान बन्ने छ।“

म उसको कमेन्ट पढेर वाल्ल परे। उसले मलाई कति मजाले व्यङ्ग गरेको थियो। उसले भनेको कुराहरु अहिले हाम्रो देशमा व्याप्त भईरहेको थियो। तर उ त्यो पनि बदलिने छ बन्ने पक्षमा थिएन। मैले उसमा नकारात्मक सोच बढिनै पाएँ। त्यहि भएर मैले पनि त्यो स्टाटसमा कमेन्ट गरेँ।

“मित्र चिन्ता नगर्नुस तपाईँले औँल्याउनु भएका कुराहरु पनि सुध्रिदै जानेछन्। सँबिधान बने पछि देशमा कानुनी शासन हुनेछ। भ्रष्टाचार गर्ने कर्मचारी र नक्कल गर्ने बिधार्थीलाई कारबाहि हुनेछ। सँबिधानले आर्थिक बिकासको बाटो खोल्नेछ अनि रोडहरु कसो नबन्ला, बिकास कसो नहोला। अनि आफ्नै देश बिकसित भएसि नेपालीहरु बिदेसिन नि कम होलान्।“

मलाई मैले लेखेको कुरा मन पर्‍यो। तर उसलाई परेनछ।उसले फेरी तल कमेन्ट गर्‍यो।

“कुनै कुरा हेर्दा र सुन्दा एकदम राम्रो लाग्छ रे। तपाईँका कुरा त्यस्तै हुन्। तर तपाईँले भने जस्तै सजिलो छैन परिवर्तन आउन।“

हैन, यो मान्छेको मनमा कति धेरै नकारात्मक बिचार अंट्न सकेको, म छक्क परेँ। अब कुरा यहाँ सम्म पुगेपछि मलाई पनि त्यतिकै छोड्न मन लागेन। एकछिन सोचेँ अनि लेखेँ।

“तपाईँलाई थहा छ मित्र तपाईँले भने जस्तै समस्याहरु बाट देशलाई मुक्त गराउन अहिले हामीले फेसबुक मार्फत नै अभियान चलाईरहेका छौँ नि। अनि त्यहाँ हामी सबै एक भएर देश परिवर्तनको कुरा गर्छौँ। किन थहा छ, किन भने हामी बिश्वास गर्न सक्छौँ। हामीलाई विश्वास छ एकदिन देशले कोल्टे फेर्नेछ। अनि तपाईँलाई अर्को कुरा थहा छ, सपना देखेन भने कहिले पुरा हुँदैन रे। सपना देख्यो भने कहिले काँहि मात्र पुरा हुँदैन रे। त्यसैले नया नेपाल को सपना देखौ न तपाईँ र म। हुँदैन?”

मैले यो कमेन्ट लेखेको निकैबेर पछि सम्म पनि उसले केहि लेखेन। सायद उसलाई मेरो कुरा चित्त बुझ्यो वा सायद उसलाई लाग्यो म मुर्खले उसको कुरा बुझ्दिन तर जे भए पनि मैले मेरो मनमा भएको करा साँचो साँचो लेख्या थेँ।

म एक आशावादि मान्छे हुँ र मलाई आशा छ नेपाल पनि एकदिन उन्नत राष्ट्र हुनेछ।

जय नेपाल!

1 comment:

Recommend